गजल
धेरै भयो मन खोलेर भन्न पाएको छैन ।
सबैको बनें म तिम्रो बन्न पाएको छैन ।

तपाईं चामलमा ढुंगा लाग्यो भन्नुहुन्छ ,
नाङ्लो फाटेदेखी निफन्न पाएको छैन ।

दशैं त तपाइँको शहरतिर आयो होला ,
गाउँमा गरीबले अझै अन्न पाएको छैन ।

थाहा पाए छोराले अंश खोज्थ्यो होला,
आमा मर्ने खबर धन्न पाएको छैन ।

गजल

मलाई यसरी घुमायो समयले पनि ।
कठै बिचरा भन्छ बरु भयले पनि ।

तपाईं सभा सकिएपछि बोल्नुभयो,
अब खासै मूल्य राख्दैन रायले पनि ।

लाग्छ खासै दुखी छैन आफ्नो हारमा ,
कसरी जित्यो भन्छ पराजयले पनि ।

उ धनी हो बा लाखौं करोडौंमा बिक्छ,
ठाउँ पाउँदैन हाम्रो जाबो सयले पनि ।

मुक्तक

खाएका कसम सकिन्छ साँचेका रहर सकिन्छ ।
जब आफ्नै मनको मान्छे प्रतिको भर सकिन्छ ।
महोदय,उनको प्रेममा यसरी घाइते हुँदो रहेछ ,
मर्दैन मनको पीडा दवा सकिन्छ जहर सकिन्छ ।